Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको फोहोर व्यवस्थापन दुई दिन प्रभावित हुने

काठमाडौंको फोहोर व्यवस्थापन दुई दिन प्रभावित हुने

  • मंगलवार, आषाढ १४ २०७९

  • 804
    SHARES

  • काठमाडौंको फोहोर व्यवस्थापन दुई दिन  प्रभावित हुने

    काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले २ दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

    नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले मंगलबार र बुधबार फोहोर फाल्ने काम रोकिने भएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ।

    वर्षाको समय सुरु भएसँगै फोहोर कुहिन थालेको छ। कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ।

    महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन्।

    हरेक वर्ष वर्षात्‌को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ।

    गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो।

    सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन।

    यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ। विभागका अनुसार फोहोर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय जरिवाना गरिनेछ।


    मंगलवार, आषाढ १४ २०७९०४:१३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij