काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरूका शेयरधनीले गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एसियन लाइफ इन्स्योरेन्सले गरेको छ ।