Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा सरकारसँग विद्युतीय मतदान मेसिन माग

निर्वाचन आयोगद्वारा सरकारसँग विद्युतीय मतदान मेसिन माग

  • बिहिवार, आषाढ १६ २०७९

  • 1.3K
    SHARES

  • निर्वाचन आयोगद्वारा सरकारसँग विद्युतीय मतदान मेसिन माग
    काठमाडौं । निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा विद्युतीय मतदान मेसिन (इभिएम)को प्रयोग गर्न  प्रस्ताव  गरेको छ । 
     
    बिहीबार आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा इभिएमको प्रयोगमा जान भन्दै प्रस्ताव पठाइएको जानकारी दिनुभयो । आयोगले यसअघि स्थानीय तहकै निर्वाचनमा इभिएमको प्रयोग गर्न विज्ञसहितको समिति गठन गरेको थियो । 
     
    उक्त समितिले नेपालमा बनेका इभिएमको प्रमाणीकरण गर्न अर्को समिति बनाउन सुझाव दिएको थियो। समयको अभाव हुँदा स्थानीय तहको निर्वाचनमा इभिएमको प्रयोग गर्न नसकेको सहायक प्रवक्ता अर्यालले बताउनुभयो । 
     
    आयोगले गठन गरेको समितिको प्रतिवेदनबारे आवश्यक निर्णय गर्नको लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाइएको उहाँले बताउनुभयो ।  
     
    अर्यालका अनुसार नेपालमा बनेका विद्युतीय मतदान यन्त्र प्रमाणीकरण भइसकेका छैनन् । त्यसैले नेपालमा बनेको मेसिन प्रयोग गर्न नसकिए विदेशमा प्रयोग भएका मेसिन भए पनि उपलब्ध गराउन आयोगले माग गरेको हो । आयोगले सरकारसँग साउन मसान्तसम्ममा मेसिन उपलब्ध गराउन लेखी पठाएको हो ।
     
    निर्वाचन आयोगले संविधान तथा सङ्घीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा इभिएम प्रयोग गर्न सक्ने कानूनी व्यवस्था छ ।
     
    २०६४ सालको संविधान सभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा इभिएमको प्रयोग गरेको थियो । त्यस्तै २०७० सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा इभिएमको प्रयोग गरेको थियो । यी ठाउँमा सफलतापूर्वक प्रयोग भएको आयोगले जनाएको छ । 
     
    यस्तै आयोगले यसबारेमा दलहरूसँग पनि आवश्यक छलफल गर्ने जनाएको छ । 
     


    बिहिवार, आषाढ १६ २०७९०४:३६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij