काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले भोलि अर्थ मन्त्रालयसँग उहाँसँग सम्बन्धित कागजात र विवरण माग्ने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले समितिको कार्यविधि पारित गरेको छ। समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा सर्वसम्मतिबाट समिति सभापति छान्ने निर्णय पनि भएको बताउनुभयो ।
बुधबार दिउँसो फेरि समितिको बैठक बस्नेछ। उक्त बैठकले सभापतिको टुङ्गो लगाउने छ। आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोसपा सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको थियो ।
समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनेछन्।
यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्।
शर्माले अर्थमन्त्री हुँदा २०७९–०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ।
चर्को विरोध भएपछि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
समितिलाई छानबिन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले १० दिन दिनुभएको छ । पहिलो बैठक बसेको १० दिनभित्र समितिले रिपोर्ट तयार पारिसक्नुपर्ने छ।