Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी, कसले मार्ला बाजी ? 

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी, कसले मार्ला बाजी ? 

  • बिहिवार, आषाढ ३० २०७९

  • 1.8K
    SHARES

  • उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी, कसले मार्ला बाजी ? 
    काठमाडौं । भोलि (शुक्रबार) हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। 
     
    संघीय संसद् सचिवालयका अनुसार निर्धारित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।
     
    जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।
     
    भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमाले सांसद हुनुहुन्छ । उहाँले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 
     
    यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराउनुभएको हो । 
     
    भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित हुनुभएको थियो । २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराउनुभएको थियो । 
     
    गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताउनुभयो । 
     
    उहाँले आफ्नो भूमिका संवैधानिक परिषदमा पनि हुने उल्लेख गर्दै सो भूमिकालाई इमानदारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     
    त्यस्तै, एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
     
    उहाँले उपसभामुख निर्वाचित हुन पार्टीले मात्रै निश्चित नगर्ने नभई विभिन्न मापदण्डहरू हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसाबले उम्मेदवारी दिएको बताउनुभयो । 
     
    तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।
     
    संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ।
     
    संसदमा प्रस्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ। 
     
    प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।
    FXnKut6UIAEHDpt.jpg


    बिहिवार, आषाढ ३० २०७९०३:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij