काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १.१५ अङ्क ९०.०५० प्रतिशतले वृद्धि भएर २१९६.२५ अङ्कमा बन्द भएको छ ।
दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैङ्किङसहित, हाइड्रोपावर, लगानी उत्पादनमूलक र व्यापार उपसूचक भने बढेको छ ।
व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैङ्किङ उपसूचक पनि ०.४ प्रतिशतले बढेको छ ।
होटेल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैङ्क उपसूचक १.४५ प्रतिशतले घटेको छ ।
गत साता र आइतबार पनि बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा प्रवेश गर्ने लगानीकताबीचको प्रतिस्पर्धाले नेप्सेमा दिनभर उतारचढाव देखिएको छ । जसले गर्दा कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
सोमबार दिनभर नेप्सेमा १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार दिनभर बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.९५ प्रतिशतले वृद्धि हुँदा गुडविल फाइनान्सको सेयर मूल्य ६.२३ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.५७ प्रतिशतले बढेको छ ।
यता स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.२१ प्रतिशतले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैङ्कको सेयर मूल्य ४.७१ प्रतिशतले गिरावट भएको छ ।