काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सङ्घ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँतिने ठोकुवा गर्नुभएको छ ।
नेकपा विभाजन नहुँदै र विभाजनपछि पनि आफू कम्युनिस्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको भन्दै गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरिएको बताउनुभयो।
मंगलबार भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गौतमले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि भए पनि पार्टी एकता हुनुपर्ने गरी आफूहरू लागेको बताउनुभयो ।
पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उहाँले दाबी गर्नुभयो ।
तर, सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिस्टका बीचमा कुनै फरक नरहने गौतमको भनाइ छ।
नेकपा पार्टीलाई पुनर्स्थापना गर्ने गरी आफूले निरन्तर अभियान सुरु गरेको र यसबाट सकारात्मक सन्देश पाएको भन्दै गौतमले यदि कम्युनिस्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्ने बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भए पनि सहभागी हुने पनि बताउनुभयो ।
कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने उहाँले बताउनुभयो।
नेता गौतमले एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयलाई जबरजस्ती तन्काउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो।
‘व्यक्ति आफैँले होइन भनेपछि यसलाई जबरजस्ती तन्काउनुपर्ने कुनै कारण छैन, व्यक्ति स्वयंले म हैन भनेको अवस्थामा राजनीतिक रूपमा उनलाई मुछ्न हुँदैन,’ गौतमको तर्क छ।
बजेट निर्माण गर्दा करको दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपबारे आफू यसै भएको होला भन्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।