काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासँगै सरकार कामचलाउमा परिणत भएको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्त्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताउनुभयो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गर्नुभयो । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताउनुभयो ।
नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको टिप्पणी गर्नुभयो । एम अधिकारी प्रकरण राजनीतिक विषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो विषय उछालेको दाबी गर्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिनुभयो ।
अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले बजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताउनुभएको छ।
आसन्न चुनावमा एमालेले सकेसम्म विचार मिल्नेसँग तालमेलको प्रयास गर्ने नभए एक्लै लड्न पार्टी सक्षम रहेको उहाँले बताउनुभयो ।