काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् ।
गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताउनुभएको छ ।
उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो। अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।
भेटमा राजदूत यान्छीले नेपालमा हुने विपदको व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् । सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुशी व्यक्त गरेको राजदूत यान्छीले बताइन् ।
जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।
बुधबार मात्र नेपालका लागी चीनकी राजदूत होउ यान्छीले विज्ञप्तिमार्फत ताइवान मुद्दामा नेपालले चीनको साथ दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।