Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुर सारिने 

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुर सारिने 

  • आइतवार, श्रावण २२ २०७९

  • 943
    SHARES

  • त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुर सारिने 
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ ।
     
    सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९-८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो ।
     
    प्राधिकरणका अनुसार हेलिप्याड निर्माण यसै वर्ष सम्पन्न हुनेछ । त्यसपछि अहिले त्रिभुवन विमानस्थलबाट भइरहेको हेलिकप्टरको उडान र अवतरण अब नलिनचोकमा सर्नेछ । यात्रुले समेत सोही स्थानमा पुगेर हेलिकप्टर चढ्न पाउनेछन् । टर्मिनल भवन र टावरको कामलाई भने बहुवर्षीय आयोजनामा राखिएको छ ।
     
    अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरूको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरूको पार्किङ भइरहेको छ ।
     
    प्राधिकरणका अनुसार नयाँ बन्ने हेलिप्याण्डमा दुई दर्जन हेलिकप्टर एकै पटक बिसान गर्न सम्भव हुनेछ । अहिले प्राधिकरणले अनुमति लिएको बखत जुन विमानस्थललाई आधार मानिएको छ, सोही विमानस्थलमा हेलिकप्टरको बिसौनी गर्न निर्देशन दिएको छ । सोही अनुसार कतिपय हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले बिसौनी पोखरा र नेपालगन्जमा सारिसकेका छन् । काठमाडौंको हकमा अब बिसौनी नलिनचोक बन्ने छ ।
     
    नयाँ हेलिप्याण्डमा इन्धनको सुविधा, आगलागीसहित आकस्मिक उद्धारका उपकरण, यात्रुका लागि टर्मिनल, हेलिकप्टर कम्पनीका कार्यालय तथा हेलिकप्टर मर्मत गर्न मिल्ने ह्यांगरसहितका संरचना बन्ने भएको छ । हेलिकप्टरको बिसौनी भक्तपुर सरेपछि अहिले हेलिकप्टर बिसान भइरहेको स्थानमा प्राधिकरणले ठूला जहाज पार्किङ गरेर राख्न स्थान बन्ने छ ।
     
    अहिले नेपालमा ११ वटा हेलिकप्टर कम्पनी दर्ता भई नियमित सञ्चालनमा छन् । यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । दुर्गम भेगमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु, पर्यटकको आगमन बढ्नु, दुर्गम भेगमा विकास निर्माणका गतिविधि बढ्नु र विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला बढ्दो मागले नेपालमा हेलिकप्टर विजनेश फस्टाउने क्रममा छ ।


    आइतवार, श्रावण २२ २०७९०२:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij