काठमाडौं । प्रतिनिधिसभाको आइतबार(आज)को बैठकको शून्य समयमा सांसदहरूले काठमाडौं फोहोर व्यवस्थापनदेखि निहारिका राजपूतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था र मिटरब्याजबारे आवाज उठाएका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद भूमिप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्न माग गर्नुभएको छ । सांसद त्रिपाठीले सरकारले गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबरजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो ।
उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणका लागि फोहोर गाडीहरू सफाइ गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धादिङ र नुवाकोट जिल्लाको सिमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भीर विवाद उत्पन्न भई अवरोध सिर्जना भएको छ । सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिबद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबरजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वाभाविक हो । प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरू सफाइ गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न जोडदार माग गर्दछु ।’
प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरूप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गर्नुभएको छ । उहाँले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताउनुभयो ।
निर्वाचन पछि नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताब दिन सक्दैन । किसानलाई मल, बीउ र सिंचाइ दिन सक्दैन । व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन । उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ?’
प्रतिनिधिसभा सदस्य मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
उहाँले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङडुङती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईँलाई सहयोग गर्न तयार छ ।’
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताउनुभयो । उहाँले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभयो । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उहाँको भनाई छ ।
प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले निहारिका राजपूतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था किन आयो भनी सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनी सरकारको जवाफ माग समेत गर्नुभयो ।
उहाँले मधेशका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभूति दिने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले कार्यदलको नाममा पीडितलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।