काठमाडौं । आसन्न मंसिर ४ गतेको सङ्घ र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनभित्र उम्मेदवार बन्ने आकाङ्क्षीहरूको सङ्ख्या बढिरहेको छ । गठबन्धन गर्दा चुनाव जित्न सहज हुने देखिएपछि आकाङ्क्षी उम्मेदवार बढेका हुन् ।
नेपाली काँग्रेसभित्रै संस्थापन र इत्तर पक्षबीच सिट बाँडफाँटका लागि हानथाप सुरु भएको छ । शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी अगाडि बढे विद्रोह गर्ने चेतावनी दिइसकेको छ भने सिट बाँडफाँट गर्दा आफ्नो गुटलाई ४० प्रतिशत चाहिने माग पनि अगाडि सारेको छ ।
काँग्रेसभित्रै ६०/४० को बहस चलेपछि अन्य पार्टीहरूमा पनि यो रोग सर्ने पक्का छ । तर कांग्रेसको देउवा पक्षका नेताहरू कुनैपनि हालतमा ६०/४० को अवस्था आउन नहुने बताइरहेका छन् । पार्टी सभापतिले समान सिट बाँडफाँट गरे ६०÷४० को अभ्यास आवश्यक नपर्ने कांग्रेस नेतृ डा. डिला संग्रौलाको बुझाइ छ ।
कार्यदलभित्र पनि कुन पार्टीलाई कति सिट दिने भन्नेमा रस्साकस्सी चलिरहेको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्रै विवाद छ भने गठबन्धनमा पनि उसले बढी सिट दाबी गरिरहेको छ । कार्यदलको भोलि बस्ने बैठकमा पाँच पार्टीका नेताहरूले आआफ्नो पार्टीको दाबी प्रस्तुत गर्ने सम्भावना रहेको छ । सिट बाँडफाँट गर्दा निश्चित मापदण्ड तयार गरेर अगाडि बढ्नुपर्ने कार्यदल सदस्य एवम् जसपाका नेता रकम चेम्जोङको भनाइ छ ।
पाँच दलका नेताहरूले यो गठबन्धन निर्वाचनसम्म जाने निर्णय गरिसकेको बताउँदै चेम्जोङले सोही अनुसार कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो ।
गठबन्धनसँग तालमेल गरिरहेको नेकपा एकीकृत समाजवादीले पनि निर्वाचनमा आफ्नो सामर्थ्य भन्दा बढी सिटको आकाङ्क्षा देखाएको छ । तर, नयाँ पार्टी भएकोले नेकपा एकीकृत समाजवादीलाई अरू दलको तुलनामा केही सकस देखिएको छ । पार्टीका महासचिव डा. वेदुराम भुसालले मापदण्ड तय गर्ने कार्य भइरहेको बताउँदै कसलाई कति सिट भनेर कुनै पनि पार्टीले छलफल गरिनसकेको बताउनुभयो ।
पाँच पार्टीको आन्तरिक सिट बाँडफाँट र गठबन्धनमा मिलेर जानुपर्ने परिस्थिति निकै चुनौतीपूर्ण बनेको छ । गठबन्धनमा नेपाली कांग्रेसले पूर्ण बहुमत चाहेको भएपनि त्यो सम्भव देखिँदैन । अन्य पार्टीहरु जसपा, राष्ट्रिय जनमोर्चाले पनि आफ्नो दाबी प्रस्तुत गर्ने तयारी थालेका छन् । समग्र मुलुकको हित भन्दापनि व्यक्तिको हितमा केन्द्रित राजनीतिक प्रणालीका कारण नागरिक हैरान भएका छन् ।