काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरूको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरूले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ ।
मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म प्रत्यक्ष रूपमा स्वदेश र विदेशमा रहेका श्रमिकहरूसँग कुरा गरेर उनीहरूको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनुभयो । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानुन अनुसार कारबाही गर्ने बताउनुभएको छ । उहाँले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने आश्वासन दिनुभयो ।
मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनुभयो । उहाँले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभई जनतालाई सहज र निरन्तरता दिनको लागि सुरुवात गरिने दाबी गर्नुभयो । मन्त्री कुँवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरू राहतको लागि रहेको बताउनुभयो ।
उहाँले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताउनुभयो । मन्त्री कुँवरले श्रमिकहरूलाई बुझ्दै नबुझी विदेश नजान पनि आग्रह गर्नुभयो ।
त्यस्तै,मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताउनुभयो । उहाँले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताउनुभयो । उहाँले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरूको असुल गरेको दाबी गर्नुभयो ।