Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक पुनर्विचारका लागि विधायन समितिमा पठाइयो 

नागरिकता विधेयक पुनर्विचारका लागि विधायन समितिमा पठाइयो 

  • आइतवार, भाद्र १२ २०७९

  • 1.0K
    SHARES

  • नागरिकता विधेयक पुनर्विचारका लागि विधायन समितिमा पठाइयो 
    काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक संसदीय समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबार(आज)को दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । 
     
    नागरिकता विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने गृहमन्त्रीको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।
     
    संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आजको बैठकमा वाचन गरिएको थियो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको थियो। राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । त्यस क्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेख्नुभएको थियो ।
     
    प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो । राष्ट्रिय सभाको आजकै बैठकमा प्रतिनिधिसभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइएको थियो ।
     
    राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‍बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो।
     
    राष्ट्रिय सभाबाट विधेयक पुनर्विचारका लागि समितिमा गएको छ । समितिले राष्ट्रपतिको सन्देशसहित विधेयकका विषयमा थप छलफल गर्नेछ । पुनर्विचार गर्न आवश्यक विषयमाथि छलफल गरेर आवश्यक ठानेमा पुनर्विचार गर्नुपर्ने व्यवस्था उल्लेख गरेर प्रतिवेदन तयार गरी राष्ट्रिय सभामा पेस गर्नेछ ।
     
    राष्ट्रिय सभाले त्यो प्रतिवेदनमाथि छलफल गरेर स्वीकार वा अस्वीकार गर्नेछ । त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिनेछ ।
     
    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक संशोधनसहित वा जस्ताको तस्तै राष्ट्रिय सभाबाट पारित भएपछि त्यसको सन्देश प्रतिनिधिसभामा पेस गरिनेछ । प्रतिनिधिसभाले त्यो सन्देश स्वीकार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक पठाइनेछ ।
     
    संघीय संसद्बाट पारित भएर आएको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।
     
    राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते ३ बजेका लागि बोलाइएको छ ।


    आइतवार, भाद्र १२ २०७९०२:३१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij