काठमाडौं । नेपालले दोस्रो एक दिवसीय खेलमा घरेलु टोली केन्यालाई पराजित गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो ।यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगावै २–० ले जितेको छ ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो ।
केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । गेरार्ड मुथुईले २० रन बनाए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे।
यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।
करण केसी ११ रनमा आउट हुँदा आदील आलम शून्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २र२ विकेट लिए ।
पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एक दिवसीय खेल सोमबार खेल्नेछ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।