काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ ।
आज मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताउनुभएको हो ।
उहाँले शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताउनुभयो । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अफ्ठ्यारो लागेको बताउनुभएको छ ।
मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताउनुभएको छ । । उहाँले भन्नुभयो, ‘कल सेन्टरमा श्रमिकका समस्या तत्काल पनि समाधान गरेका छौं । कल सेन्टर कल सेन्टरको लागि मात्रै होइन । तत्काल समाधान गर्ने माध्यम पनि भएको छ । श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ । सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ । बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ । धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन् । केही जटिल प्रकारका भएकाले केही समय लाग्छ ।
मन्त्री कुवरले आज चार जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । उनीहरुले वैदेशिक रोजगारीमा लैजान्छु भनेर नलगिएको,वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए । श्रममन्त्री कुँवरले हेरक हप्ताको आइतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहनुभएको छ ।