काठमाडौं। नाबालिग किशोरी बलात्कारको आरोपमा नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो।
२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। पीडितले जाहेरी दिए लगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो।
अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्यो भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो। निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए। उनी प्रहरी र क्यान दुबैको सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालो सूचीमा राख्यो।
अनि मात्रै भदौ २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खोजी अघि बढाएको थियो। प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने आज पक्राउ परेका हुन्।