काठमाडौं । सत्तारुढ गठबन्धनको साथ आएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्न भूमिका खेलेको आरोप लगाउनुभएको छ। पौडेल सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ ।
चुनावी प्रचार अभियानलाई तीब्रता दिएका थापाले मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाइमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने काम भएको बताउनुभयो। उहाँले मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लड्नु परेको दावी गर्नुभयो ।
संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो । थापाले भन्नुभयो, ‘भूमिहीन सुकुम्बासीको बारेमा कुनै पनि सुनुवाइ नहुने । हाम्रो ठाउँमा बाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकन्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरुले हातमा सत्ता जाने खतरा छ । त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ र, म यहाँहरूलाई भन्न चाहन्छु–हामी गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन गर्यौँ । संघर्ष गर्यौं, क्रान्ति गर्यौ । बलिदानबाट जे–जे उपलब्धि प्राप्त गर्यौं । त्यसलाई त जोगाउनु पर्यो नि । त्यो उपलब्धिलाई जोगाएर नपुगेका केही कुराहरु छन भने एउटा राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढनु पर्यो नि । मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन । जबसम्म औद्योगिक युगमा लैजान सकिँदैन, रोजगारी पनि सृजना हुँदैन । मुलुकलाई सबै मिलेर राष्ट्रिय सहमतिका साथ अघि बढाउने हो । त्यसका लागि गठबन्धन गरिएको हो ।’
थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिनुभयो।
त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उहाँले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।