Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यही महिना भित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिन्छः मन्त्री चौधरी

यही महिना भित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिन्छः मन्त्री चौधरी

  • बुधवार, मंसिर १४ २०७९

  • 473
    SHARES

  • यही महिना भित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिन्छः मन्त्री चौधरी

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभयो ।

    गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

    उहाँले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताउनुभयो । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताउनुभयो । उहाँले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले माथिको जलाधार संरक्षण र बाढी पहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको बताउनुभयो । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर रु ३४ अर्ब खर्च गरेको सरकारले अब करिब ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताउनुभयो ।

    निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिका लगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिनुभयो । निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समाधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताउनुभयो ।


    बुधवार, मंसिर १४ २०७९०२:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij