Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दसैँमा घर जाने व्यवस्थाका लागि के गर्दैछ सरकार?

दसैँमा घर जाने व्यवस्थाका लागि के गर्दैछ सरकार?

  • सोमवार, भाद्र २९ २०७७

  • 2.2K
    SHARES

  • दसैँमा घर जाने व्यवस्थाका लागि के गर्दैछ सरकार?


    काठमाडौँ – जनस्वास्थ्यविद रवीन्द्र पाण्डेका अनुसार अहिले नेपालको ग्रामिण भेग भन्दा शहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च छ।

    डा. पाण्डेकै शब्दमा भन्ने हो भने कोरोना जोखिमबाट नेपालका गाउँहरु सुरक्षित छन्।

    दूरी कायम गरेका घरहरुका कारण पनि गाउँमा कोरोना संक्रमणको जोखिम कम रहेको तर घना बस्ती रहेको राजधानी काठमाडौँ लगायतका शहरी क्षेत्रमा संक्रमणको दर उच्च रहेको उहाँको दाबी छ।

    तर जनस्वास्थ्यविद डा. पाण्डेको यो दाबी अबको केही समयमै गलत ठहर हुने सम्भावना बढ्दै गएको छ।

    किनभने हिन्दु नेपालीहरुको महान पर्व दसैँ नजिकिएसँगै अब गाउँमा मानिसहरु भेला हुने क्रम बढ्ने छ।

    शहरी क्षेत्रमा रहेका मानिसहरु दसैँ मनाउन घर फर्कने क्रम सुरु भएसँगै कोरोना पनि गाउँ गाउँमा फैलिने सम्भावना उच्च रहेको विज्ञहरुले बताएका छन्।

    यदि सरकारले दसैँ मनाउन गाउँ फर्कनेहरुलाई सुरक्षित ढंगले फर्कनका लागि व्यवस्थापन मिलाउन नसके कोरोनाको विष्फोट गाउँमा हुने वरिष्ठ जनस्वासथ्यविद डा. बाबुराम मरासिनीले बताउनुभयो।

    उहाँले पीसीआर परीक्षण गरेर मात्रै मानिसहरुलाई गाउँ फर्कने व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो।

    कोरोना संक्रमणको रोकथामका लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरे यता नेपालमा लामो दूरीका सार्वजनिक सवारी चलेका छैनन्।

    तर अब दसैँका बेलामा पनि यातायात चल्न नदिने निर्णय सरकारले गर्ने सम्भावना कम छ।

    असोज १ देखि सरकारले अनुमति नदिए पनि यातायात चलाउने घोषणा यातायात व्यवसायीले गरेका छन् भने आम जनताले पनि यातायात बन्द गरि राख्ने सरकारको निर्णयमा साथ दिने सम्भावना छैन।

    चाडपर्व मनाउन गाउँ जान चाहनेहरुलाई सुरक्षित ढंगले पु¥याउने दायीत्व सरकारको रहेको नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताउनुभयो।

    उहाँले पीसीआर परीक्षण गर्दै उच्च सावधानी अपनाएर यातायात चलाउन माग गर्नुभयो।

    कोरोना संक्रमण फैलावटको क्रम नियन्त्रण गर्न परीक्षणको दायरा बढाउन सरकारलाई चौतर्फी दबाब छ।

    पछिल्लो समय सरकारले आफुखुशी परीक्षण गराउन चाहनेहरुका लागि दुई हजार शुल्क तोकेको छ।

    कतिपयले जनताहरु महासंकटमा रहेको बेला परीक्षणको शुल्क लिएर सरकारले कोरोनामाथि व्यापार गरेको भन्दै आलोचना पनि गरेका छन्।

    दसैँमा घर जान चाहनेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्य भनिएपछि शुक्ल तिरेर कोरोना परीक्षण गर्ने चाहनेहरुको संख्या निकै नै बढ्ने छ।

    डा. मरासिनीले यसरी परीक्षण गर्न चाहनेहरुका लागि शुल्क घटाउन माग गर्नुभयो।

    दसैँ आउन अब एक महिना जति समय बाँकी छ। मानिसहरु दसैँका लागि गाउँ फर्कन चाहिरहेका छन्।

    तर सरकारले अहिलेसम्म गाउँ फर्कन चाहनेहरुका लागि यातायातसहित अन्य व्यवस्थापनको मापदण्ड के कस्तो रहने भन्नेबारे टुंगो लगाएको छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैँमा घर जाने व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो।

    कोरोना संकट अहिले विश्वव्यापी विपत्ति हो। हाम्रा चाडपर्वहरुको पनि आफ्नै मान्यता होला तर चाडपर्व मनाउने नाममा हामी कसैले पनि कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्नु हुँदैन।

    सरकारले गाउँ फर्कन चाहनेहरुका लागि समयमै उचित मापदण्ड तयार पारेर त्यसको सफल कार्यान्वयनमा कुनै किसिमको कमजोरी गर्नु हुँदैन।

    यदि केहीगरी कमजोरी भयो भने राज्यले थेग्नै नसक्ने गरी कोरोनाको जोखिम बढ्ने खतरा उच्च छ।


    सोमवार, भाद्र २९ २०७७०८:१४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij