काठमाडौं। नेपालले टर्की भुकम्पमा सहयोग गर्ने भएको छ। टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री सहयोग पठाउने भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने निष्कर्षसहित निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो। टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू सहभागी बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको हो।
टर्की भूकम्पमा परी हालसम्म ९ हजार बढीको ज्यान गएको छ, लाखौं प्रभावित भएका छन् भने ठूलो भौतिक क्षति भएको छ ।