काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीचमा प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने अर्को खेलमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन् ।
यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन् ।
नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनले पराजित गर्दै बहराइनसँग भिड्न लागेको हो । बहराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटले पराजित भएको टिम हो ।
प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।