काठमाडौं । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताउनुभएको छ ।
एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार (आज) आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भन्नुभयो, ‘ठुला दलले बदलिँदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् । पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरू हिँडिरहेका छन् । तसर्थ अब यिनीहरुको औचित्य समाप्त भइसकेको छ ।’
ठुला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउँदै पूर्व मन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
‘मैले पहिलेदेखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरुको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन्,’ उहाँले थप्नुभयो, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य साबित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिस्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’
चौधरीले नेता कार्यकर्ताहरुलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिनुभएको छ ।