काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री युवराज ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणका नाममा राजनीतिक प्रतिशोध साँध्न नमिल्ने टिप्पणी गर्नुभएको छ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो, ‘भ्रष्टाचार लोकतन्त्रको सबभन्दा ठुलो शत्रु हो । नेकपा एमालेले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने महान् उद्देश्य लिएको छ । नक्कली शरणार्थी प्रकरण अत्यन्त गम्भीर कुरा हो । त्यसमा हाम्रो पार्टीका टोपबहादुर रायमाझी र रामबहादुर थापा बादल कमरेडको नाम जोडिएको छ । पर्याप्त तथ्य र प्रमाण छ भने त्यसलाई ढाकछोप गर्ने वा जोगाउने काममा एमालेले लाग्दैन । तर भ्रष्टाचारको अन्त्यका नाममा राजनीतिक प्रतिशोध नलिइयोस्,।’
विभिन्न व्यक्तिको नाम जोडेर एमालेलाई बदनाम नगर्न पनि उहाँले चेतावनी दिनुभयो । जतिसुकै हाई—प्रोफाइलको व्यक्ति भए पनि भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको उहाँले औंल्याउनुभयो ।एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारी जोगाउन नलाग्ने पनि ज्ञवालीले स्पष्ट पार्नुभयो।
नेकपा एमाले सरकार ढाल्ने खेलमा नलागेको पनि उपाध्यक्ष ज्ञवालीले बताउनुभएको छ । उहाँले एमाले अस्थिरताको कारक बन्न नचाहेको बताउँदै सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभयो । उहाँले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हल्लैहल्ला मात्र भएको दाबी गर्नुभएको छ ।अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्री बाँड्दै हिँड्नु गलत भएको बताउँदै उहाँले अध्यक्ष ओलीले पनि होइन भनिसक्नुभएको छ बताउनुभयो।