काठमाडौं । आज पनि देशभर पानी पर्ने भएको छ । केही दिनयता परिरहेको झरी भोलि देखि भने केहि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो।
मौसमविदका अनुसार पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने भएको छ । नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ।
मंगलबारदेखिको निरन्तर वर्षाले मुलुकका मुख्य नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ। नारायणी नदीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाएको छ।
बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्ती र नवलपरासीमा पनि त्यस्तो अग्रिम सूचना पठाइएको छ। कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का अन्य नदी खोलामा आज पनि जोखिम यथावत् रहेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा १०३.९ मिलिमिटर वर्षा भएको छ।