काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि पनि देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश का थोरै र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।