काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकार नयाँ परियोजना मार्फत अगाडि बढ्ने बताउनुभएको छ ।
खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ्ग र बाजुराको संगमस्थलका रुपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना संचालन गरेर सरकार अगाडि बढ्ने बताउनुभएको हो । ‘प्रकृतिले दिएको यो अनुपम क्षेत्रको विकासका लागि छुट्टै खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठान बनाएर नयाँ परियोजनाबाट विकासका काम अगाडि बढाउने छौं’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो क्षेत्रलाई पर्यावरण मैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्नु पर्दछ ।’

उहाँले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुन सक्ने बताउनुभयो । भारत लगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि पहिलेको भन्दा अलि फरक ढंगबाट ध्यान केन्द्रित गरेको बताउनुभयो । क्याबिनेटबाट सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि निणर्य गर्ने कुरादेखि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न भर्खरै भारत सरकारसँग समेत कुरा भएकाले यहाँको विकासलाई देशको अग्रणी क्षेत्रको रुपमा अगाडि लगिने प्रचण्डले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै भारतीय धार्मिक योगगुरु बाबा रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको बताउनुभएको छ । योगगुरु बाबा रामदेवले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताउनुभयो।
