Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तराई-मधेशमा गर्मीले उकुसमुकुस: अझैं केहीदिन पानी नपर्ने, लू चल्दा घरभित्रै बस्न चिकित्सकको सुझाव (खास खबर)

तराई-मधेशमा गर्मीले उकुसमुकुस: अझैं केहीदिन पानी नपर्ने, लू चल्दा घरभित्रै बस्न चिकित्सकको सुझाव (खास खबर)

  • शुक्रवार, जेठ २६ २०८०

  • 885
    SHARES

  • तराई-मधेशमा गर्मीले उकुसमुकुस: अझैं केहीदिन पानी नपर्ने, लू चल्दा घरभित्रै बस्न चिकित्सकको सुझाव (खास खबर)

    काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो एक सातादेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ ।

    तराईका धेरै जिल्लामा एक सातायता तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ, जसले गर्दा तातो हावा ‘लू’ चल्न थालेपछि तराईका जिल्लाको जनजीवन उकुसमुकुसपूर्ण बनेको हो । लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम पुगेमा लू चल्ने गर्छ ।

    हिजो धनगढीमा ४०.५, नेपालगन्जमा ४१.८, भैरवामा ४२.५, विराटनगरमा ४२.६, जनकपुरमा ४२.४ पश्चिम नवलपरासीमा ४०, कपिलवस्तुमा ४०, र बर्दियामा ४० डिग्रीसम्म तापक्रम पुगेको थियो भने आज पनि तापक्रम ४० डिग्रीभन्दा माथि नै रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै दुई/तिन दिन मौसम यस्तै रहने छ । पूर्वी तराईका भू—भागहरूमा भने मौसम बदली रही एक÷दुई डिग्री तापक्रम घट्ने सम्भावना रहेको अधिकारीकोको भनाई छ ।

    तातो हावा लू का कारण तराई मधेसका धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ता हुने,  ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।  अत्यधिक गर्मीले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ, जुन अति नै जोखिमयुक्त हुन्छ । यस्तो बेलामा बेहोस भएर मृत्यु नै हुन सक्छ ।  सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अत्यधिक गर्मी बढ्दा संक्रामक रोगहरू निम्तने चिन्ता व्यक्त गर्दै विशेष गरेर ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई तातो हावामा बाहिर ननिस्कन सुझाउनु हुन्छ ।

    केही दिन अझै तापक्रम निरन्तर बढ्न सक्ने विश्लेषण गरिएकाले खानपानमा ध्यान दिनुपर्ने डा. पुन बताउनुहुन्छ । गर्मीमा अत्यधिक पसिना आउने भएकाले डिहाइड्रेसन हुन सक्छ । त्यसैले प्रशस्त पानी, जुस वा झोलिलो पदार्थ पिउनुपर्ने उहाँले बताउनुभयो । यस्तो बेला छहारी तथा शीतल ठाउँमा बस्न उहाँको सुझाव छ ।

    गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनौपचारिक कुराकानी भइरहे पनि अब कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन । सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन । यसले गर्दा पनि यस्तो बेला कसरी नागरिकलाई राहत दिने भन्नेबारे कुनै योजना बनाइएको छैन । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मनिष झाले विश्व जगतमा १२ करोड ५० लाख जनसंख्यालाई यसले प्रभाव पार्नुका साथै हजारौंको मृत्यु पनि भएको र नेपालमा पनि सम्भावना धेरै रहेको बताउँदै स्वास्थ्य जोखिमको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    गर्मीले पानीका स्रोत सुक्दै जाँदा जनावर तथा चराचुरुंगीलाई पनि समस्या भएको छ । यो बेला साना खोला र तालतलैया पानीविहीन छन् । जसले गर्दा गाईवस्तु, जनावर, चराचुरंगीलाई समेत पानी खान समस्या भएको छ । एक हप्ता लामो समयदेखिको लू का कारण जनजीवन प्रभावित भएको तर राहतका कुनै योजना नआएको भन्दै सरकारको आलोचनासमेत हुन थालेको छ । अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याइएको छैन, यसमा सरकारले बेलैमा ध्यान दिन आवश्यक छ । अहिले गाउँगाउँमा स्थानीय सरकार छन्, उनीहरूले पनि आफ्नो जिम्मेवारी पुरा गर्नु पर्दछ । गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला र विपद्जन्य समस्या पनि आइपर्न सक्छन्, यसको पनि आवश्यक तयारी गर्न जरुरी छ ।


    शुक्रवार, जेठ २६ २०८००८:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij