काठमाडौँ – नेपालका महिला सांसदहरु बलात्कारीलाई फाँसीको सजायको माग गर्दै संगठित भएका छन्। बलात्कारकारीलाई फाँसी दिन माग राख्दै सडक तातिरहेका बेला महिला सांसदहरु पनि मृत्युदण्डको सजाय माग्दै एकजुट भएका हुन्।
उनीहरुले संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन्। आज काठमाडौँमा बसेको महिला सांसदहरुको भेलाले यसबारे थप सुझाव संकलन गर्न सत्तारुढ दल नेकपाकी सांसद बृन्दा पाण्डेको नेतृत्वमा सुझाव समिति समेत गठन गरेको छ।
संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न आफूहरुले माग उठाएको नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले बताउनुभयो । उहाँले लोकतान्त्रिक भनिएका विश्वका विभिन्न मुलुकका संविधानमा पनि मृत्युदण्डको व्यवस्था कायम रहेकोले नेपालमा पनि त्यो व्यवस्था लागु गरिनुपर्ने बताउनुभयो ।
मृत्युदण्डका विरुद्ध संविधानमा भएको व्यवस्था र विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौतामा नेपालले पक्षराष्ट्र भएर गरेको हस्ताक्षरबारे पनि अब पुनरावलोकन गर्ने बेला आएको उहाँको भनाई छ ।
बलात्कारका घटनाविरुद्ध आज भेला भएका सहभागी महिला सांसदले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिन र जुनसुकै बलात्कारका घटनाका दोषीको लिङ्ग छेदन गर्न पनि सुझाव दिएका छन् । वर्तमान कानुनले बलात्कारका घटनामा कुनै कमि ल्याउन नसकेको बताउँदै नेकपाका सांसद शान्ता चौधरीले अब मृत्युदण्ड र लिंग छेदनको कानुनी व्यवस्था लागु गरिनुपर्ने बताउनुभयो ।
तर कानुनका जानकारहरुले भने मृत्युदण्डको कानुन नेपालमा लागु गर्न नहुने बताएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभ्य भनिएका सबै मुलुकहरुले प्राणदण्डको बर्बर कानुन हटाइसकेका बताउनुभयो ।
केही सीमित देशमा मात्रै यो कानुन अहिले पनि विद्यमान रहेको तर अत्यन्त न्यून रुपमा मात्रै त्यसको प्रयोग भइरहेको उहाँले बताउनुभयो । नेपालको संविधानमा नै संसदबाट मृत्युदण्ड सम्बन्धी कुनै पनि कानुन बनाउन नपाउने उल्लेख रहेको त्रिपाठीले बताउनुभयो।
अहिले बलात्कारीलाई फाँसीको सजाय माग गर्दै सडक तात्नुलाई भएका कानुनको सफल कार्यान्वयन नभएको रुपमा बुझ्न सकिने त्रिपाठीको भनाई छ । कानुनको पालना गर्ने निकायको लापर्वाहीका कारण दोषीहरु कारबाहीको दायरामा नआउनु, राज्यले नै दोषीलाई उन्मुक्ति दिनु जस्ता कारणले जनआक्रोश बढ्दै जाँदा फाँसीको माग उठेको उहाँको दाबी छ । भएकै कानुनको उचित कार्यान्वयन गर्नु नै अहिलेको सर्वाेत्तम समाधान रहेको उहाँले बताउनुभयो ।
नेपालमा बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज बेला बेला उठ्दै सेलाउँदै गरेको छ । तर पछिल्लो पटक त महिला सांसदहरु नै एकजुट भएर मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्ने पक्षमा उभिएका छन् ।
साथै बलात्कारीको लिंगछेदन गरिनुपर्ने पनि उनीहरुको माग छ । तर लिंगछेदन गर्दा अपराध घट्नु भन्दा पनि थप बढ्ने सक्ने अपराध अनुसन्धानका विज्ञहरु बताउँछन् ।