काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बिहीबार(आज)को राष्ट्रियसभा बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरोध गरेपछि सभाको बैठक स्थगित भएको हो।
यसअघि बुधबार पनि सोही विषयलाई लिएर एमालेले सभा अवरोध गरेपछि सभाको बैठक सूचना टाँसेर आजलाई बोलाइएको थियो। सरदार प्रितम सिंहमाथि लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले बारम्बार दिल्ली भ्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो।
उक्त विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा पनि एमाले सांसदले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सभा चल्न नदिने बताए। सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गर्नेभन्दा पनि एमाले सांसदहरूले सभा चल्न दिएनन्।
उक्त विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ। राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार(भोलि) बस्ने गरी स्थगित भएको छ।