Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दसैँ त अर्काे वर्ष पनि मनाउन सकिन्छ, तर...

दसैँ त अर्काे वर्ष पनि मनाउन सकिन्छ, तर...

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.2K
    SHARES

  • दसैँ त अर्काे वर्ष पनि मनाउन सकिन्छ, तर...

    काठमाडौँ – हिन्दु नेपालीहरुको महान पर्व दसैँ नजिकिँदै गर्दा देशभर चहल–पहल बढ्न थालेसँगै कोरोना संक्रमणको ग्राफ झन् झन् उकालो लागेको छ।

    सरकारले लकडाउन र निषेधाज्ञा अन्त्य गरेसँगै बजार व्यवसाय पूरानै हालतमा फर्कन थालेका छन्। तर निरन्तर रुपमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि चिन्ता थपिँदै गएको छ।

    सरकारले दसैँका बेला मानिसहरुको आवत जावत बढेको बताउँदै अत्यन्त सावधानीका साथ यात्रा गर्न आग्रह गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मान्यजनबाट टिका थाप्न जाने क्रममा कतै हामीले सँगै कोरोना पनि लगिरहेका त छैनौँ भन्ने कुरामा ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले घरमा सकेसम्म आफन्त तथा नातागोतालाई प्रवेश नगराउन आग्रह गर्नुभयो।

    प्रवक्ता गौतमले दसैँ लगायतका चाडपर्व मनाउने क्रममा जनस्वास्थ्य मापदण्डको पालना गर्ने काममा कुनै पनि हालतमा लापर्वाही नगर्न आग्रह गर्नुभयो। दसैँ त अर्काे वर्ष पनि मनाउन सकिने बताउँदै उहाँले लापर्वाहीले दुःखद घटना घट्न सक्नेमा सचेत रहनुपर्ने बताउनुभयो । उहाँले घरमा ६० वर्ष भन्दा बढी उमेरका व्यक्ति भए थप सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

    ‘वृद्ध–वृद्धामा संक्रमिणको जोखिम धेरै हुने भएकाले उहाँहरुका लागि विशेष सावधानी अपनाऔँ। अहिले नमनाए पनि चार्ड पर्व अर्को वर्ष मनाउन पाइँन्छ। तर आफन्त नै गुमाए, हामीले आफैले आफैलाई माफ गर्न सक्दैनौँ। आफ्ना घरमा भएका ज्येष्ठ नागरिकको ख्याल राखौँ’, उहाँले भन्नुभयो।

    काठमाडौँमा प्रशासनले जोर बिजोर लागु गरे पनि सडकमा सवारीको चाप बढेर ट्राफिक जाम हुन थालेको छ । निषेधाज्ञा हटाएसँगै आक्रामक रुपमा कोरोना संक्रमण फैलिन थाले पनि मानिसहरुमा भने डर हराउँदै गएको जस्ता दृष्यहरु बजारमा देखिन्छन्।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने अब मानिसहरुले आ–आफै सतर्कता अपनाउनु पर्ने बताउनुहुन्छ ।

    दसैँ नजिकिँदै गर्दा एकातिर काठमाडौँ छाडेर गृहजिल्ला फर्कने क्रम बढेको छ भने अर्काेतिर लकडाउनले रोकिएका मानिहरु काठमाडौँ भित्रिने क्रम बढेको छ । काठमाडौँ भित्रिनेहरु घरधनीले कोरोना परीक्षण रिपोर्ट देखाउन भन्ने गरेपछि रातभर लाइन लागेर पीसीआर परीक्षणका लागि अस्पतालहरुमा लाइन लागिरहेका देखिन्छन् ।

    तर यसरी लाइन लाग्दा कोरोनाको जोखिम थप बढ्ने जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले बताउनुभयो । उहाँले पीसीआर परीक्षणका लागि लागिरहेको भीडलाई सरकारले व्यवस्थापन नगरेकोमा आपत्ति जनाउनुभयो ।

    यता दसैँअघि फेरि लकडाउन हुने चर्चा चलिरहेका बेला निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    राष्ट्रिय व्यवसायिक पहलको नेतृत्वमा पुगेको उद्योगी व्यवसायीहरुको टोलीले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नगर्न आग्रह गरेको हो । छलफलपछि स्वास्थ्यमन्त्री ढकालले अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रतिक्रिया दिनुुभएको बताइएको छ ।


    शुक्रवार, आश्विन १६ २०७७०७:३८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij