काठमाडौं । मुलुकमा सुन तस्करीका नयाँ–नयाँ घटना सार्वजनिक भइरहेका छन् । सुन तस्करी प्रकरणमा प्रमाण पुग्दा समेत छानबिनको दायरामा नतानिएका केही व्यक्तिहरूका कारण सरकारले घाँस देखाएर गोरु चुटाइ गरिरहेको पुष्टि हुन थालेको छ । ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको तस्करसँग सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने अनविज्ञ बनिरहेका छन् । भ्रष्टाचार मुक्त देश बनाउँछु र तस्करीमा लागेका कसैलाई छोड्दिन भन्ने गृहमन्त्रीको खोक्रो भाषण महराले तुहाइदिएका छन् । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार गृहमन्त्रीले आफ्नो पार्टीका नेताहरूलाई संरक्षण गरिरहेको पाइएको छ ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार महराका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । घटना सतहमा आइसकेपछि निष्पक्ष छानबिन हुनुपर्ने एमाले सांसद ठाकुर गैरेको माग छ ।
हाल फरार भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । यो सञ्जालसँग पटक–पटक सम्पर्क भएपनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् । यो गिरोह कुनै एकदुई व्यक्ति विशेष नभई अन्तर्राष्ट्रिय जालो रहेको राजनीतिक विश्लेषक डा. विष्णु दाहालको भनाइ छ ।
पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री डा. भीम रावलले विषयलाई विषयान्तर गरेर मिडिया ट्राइल गरिएकोमा दुख व्यक्त गर्नुभयो । अभियोग जस्तो भएपनि नाम मुछिएपछि कारबाहीको दायरामा ल्याउनुपर्ने रावलको भनाइ छ ।
८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । तर कारबाही गर्ने निकाय भने मौन बसेको देखिन्छ ।