Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको कोभिड समितिले भन्यो– घरमा असुविधा हुने संक्रमितलाई आइसोलेसनमा बस्ने व्यवस्था गरियोस्

कांग्रेसको कोभिड समितिले भन्यो– घरमा असुविधा हुने संक्रमितलाई आइसोलेसनमा बस्ने व्यवस्था गरियोस्

  • सोमवार, आश्विन १९ २०७७

  • 754
    SHARES

  • कांग्रेसको कोभिड समितिले भन्यो– घरमा असुविधा हुने संक्रमितलाई आइसोलेसनमा बस्ने व्यवस्था गरियोस्

    काठमाडौं । नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिले सरकारलाई काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा आइसोलेसन कक्षहरुको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । हाल सरकारले लक्षण नदेखिएका कोरोना संक्रमित नागरिकहरुलाई घरमै बस्न भनेकोमा उक्त समितिले सरकारको यो नीतिको कडा विरोध गरेको छ ।

    उक्त समितिका संयोजक एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले भन्नुभयो, ‘राजधानीमा दिनदिनै सयौँको संख्यामा नयाँ संक्रमितहरु थपिइरहेका छन्, यस्तो अवस्थामा उनीहरुलाई पनि घरमै बस्नु भनेर सरकारले पठाउँदा त्यसले झन् संक्रमणको जोखिम बढाउन सक्छ ।’

    डा.महतले भन्नुभयो। ‘आफ्नै घर भएका र घरमा सुविधा भएकालाई त सहज होला, तर पनि यहाँ डेरामा बस्ने तथा संयुक्त रुपमा डेरा भाडामा लिएर बस्ने नागरिकले कसरी व्यवस्थापन गर्ने ? अनि सबै संक्रमितलाई घरमालिकले घर बस्न दिएन भने के गर्ने ? यस्तो विषयमा सरकारले सोच्नुपर्दैन ?’

    पोजेटिभ देखिएका नागरिकलाई सरकारले सोध्नुपर्ने र यदि उनीहरुलाई डेरामा या घरैमा पनि असुविधा छ र उनीहरुबाट अरुलाई पनि संक्रमण हुने अवस्था छ भने उनीहरुलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्ने व्यवस्था हुनुपर्ने डा.महतले बताउनुभयो । सरकारले लक्षण नभएका संक्रमितलाई घरैमा बस्न र कुनै लक्षण देखिएर समस्या भएमा मात्र अस्पताल आउन भनेको छ । तर सरकारको यो निर्णयप्रति काँग्रेसले आपत्ति जनाएको छ ।

    सरकारको यो तरिका बिल्कुलै असोभनीय मात्र नभएर अव्यवहारिक रहेको र यसले झनै राजधानीमा संक्रमितहरुको संख्या बढेर भयावह स्थिति आउने र भोलि संक्रमितहरुले उपचार र आइसियु पनि नपाउने अवस्था आउनेतर्फ पनि काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको सहमहामन्त्री डा.महतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘राजधानीमै दिनप्रतिदिन हजारभन्दा बढी संक्रमित बढेर स्थिति अत्यन्तै भयावह हुनेतर्फ गइरहेको देखेर पनि सरकारले यो महामारीको व्यवहारिक तथा वैज्ञानिक व्यवस्थापन गर्न सकेको छैन, नागरिकले दुःख पाइरहेका छन् ।’

    आफूलाई घरैमा राम्रो सुविधा रहेको र घरमा बस्दा राम्रो हुने बताउने संक्रमितलाई घरैमा बस्न दिए पनि उनीहरुको पनि राम्रोसँग अनुगमन र उनीहरुलाई अस्पताल आउनु परेमा आवश्यक पर्ने सेवाका बारेमा पनि सरकारले स्थानीय निकायको समन्वयमा राम्रो प्रबन्ध गर्नुपर्ने डा. महतको भनाइ छ ।

     


    सोमवार, आश्विन १९ २०७७१२:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij