काठमाडौं । मकवानपुर र चितवनमा कोरोनाका ९४ जना संक्रमित थपिएका छन् ।मकवानपुरमा आज विहान ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार २० महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुरमा हालसम्म एक हजार ५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यता, चितवनमा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् ।