काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थवाङमा रहेर जनयुद्धको तयारी, उठान र सञ्चालन गरिएको स्मरण गर्नुभयो ।
ुथवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, प्रधानमन्त्री दाहालले भने, थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।
प्रधानमन्त्री दाहालले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउनुभयो । क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुदैन । त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ, उहाँले भन्नुभयो ।’
उहाँले पार्टीको आगामी विशेष महाधिवेशनबाट पार्टीको समाजवादको बाटो थप स्पष्ट हुने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था क्रमश सुधारको बाटोमा रहेको बताउनुभयो । उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं, उहाँले भन्नुभयो, म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ।