काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतिशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताउनुभएको छ । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उहाँले बताउनुभयो ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएको थियो ।
छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतिशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उहाँकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सतिशलालको नाम लिनुभएन, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताउनुभयो । आफू मात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरुकहाँ बस्ने गरेको प्रचण्डले बताउनुभयो।
अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको प्रचण्डले दाबी गर्नुभयो । अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताउनुभयो । त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उहाँले बताउनुभयो ।