Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

८ बुँदे सहमतिपछि डा. विशद दाहालको निलम्बन फुकुवा

८ बुँदे सहमतिपछि डा. विशद दाहालको निलम्बन फुकुवा

  • बिहिवार, पौष २६ २०८०

  • 689
    SHARES

  • ८ बुँदे सहमतिपछि डा. विशद दाहालको निलम्बन फुकुवा
    काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरीत कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासीय चिकित्सक डा.विशद दाहाल र प्रशासनबिचको छलफलपछि विवाद साम्य भएको हो । 
     
    बिहीबार कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकहरूका तर्फबाट प्रतिनिधित्व गर्ने डा.विजय केसीबिच सहमति भई विवाद समाधान भएको हो ।
     
    डा.दाहालले विगतका कमीकमजोरीबाट पाठ सिक्नुपर्ने जनाएपछि काठमाडौं मेडिकल कलेजले उहाँको निलम्बन समेत फिर्ता लिएको प्रशासनले जनाएको छ । डा.दाहालले कलेज प्रशासनले आफूमाथि अभद्र व्यवहार गरेको र कलेज गेटबाट भित्र पस्न नदिएको बताउँदै आउनुभएको थियो ।
     
    बिहीबार बसेको वार्तामा दुई पक्षबिच कलेजले सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत आठ बुँदे सहमति गरिएको छ । मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिनुभएको थियो । आचरण विपरीत कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता प्रभावित बनेको प्रशासनले जनाउँदै आएको थियो । तर निलम्बन फुकुवाको माग गर्दै उनीजस्तै आवासीय चिकित्सकहरू आन्दोलनमा थिए । 
     
    सो क्रममा कलेजका सञ्चालक डा.सुनिलकुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भएको भन्दै दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिनुभएको थियो। तर दाहाललगायतका चिकित्सकहरू कलेज प्रशासनको मनपरीविरुद्ध उत्रिँदै आएका थिए । 
     
    ८ बुँदे सहमति अनुसार आवासीय चिकित्सकहरूले पुष १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासीय चिकित्सकले पुष ११ गते कुनैपनि स्वास्थ्य शिविरहरूमा संलग्न नहुने भनी दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।
     
    यस्तै, निःशुल्क स्वास्थ्य शिविरका सवालमा अब उप्रान्त अर्को व्यवस्था नभएसम्म दुई हप्तामा तीन पटक र स्टे क्याम्प महिनामा एक पटक वा अस्पताल व्यवस्थापनले आवश्यक ठाने बढीमा दुई पटकसम्म आयोजना गर्ने, शिविर हुने ठाउँ, दुरी र आवश्यकताको आधारमा एक पटकको आवासीय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुने तथा एक हप्ताभित्र विभिन्न ठाउँहरूमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिने लगायतको सहमति भएको छ ।


    बिहिवार, पौष २६ २०८००३:३७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij