Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 793
    SHARES

  • धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणको निष्कर्ष
    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ । धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ ।
     
    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक–पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आउनुभएको थियो । उहाँले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किराँतीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताउनुभएको थियो ।
     
    मेयर साम्पाङको आग्रहपछि मन्त्री किराँतीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिनुभएको थियो । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले आज धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो । नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।
     
    धरान बजारबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । ’हवाई नीति, २०६३’ मा ’तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ प्रावधान रहेको छ । यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि ’वान वे अप्रोच’ मात्र सम्भव रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ । साथै विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।
    GHVSGjyWIAAyFFF-1709030352.jpg
     


    मंगलवार, फाल्गुण १५ २०८००४:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij