काठमाडौं । आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
काठमाडौंको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताउनुभयो ।
यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।