Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तिज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल

तिज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल

  • शुक्रवार, भाद्र २१ २०८१

  • 648
    SHARES

  • तिज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताउनुभएको छ । 
     
    तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गर्नुभएको छ।
     
    राष्ट्रपति पौडेलले तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 
     
    ‘नेपाली हिन्दू महिलाहरूको महान् चाड तीजको  सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उल्लेख छ ।
     
    राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बताउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘तीज पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजाआराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु ।’
     
    ‘समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् भन्दै राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कलासंस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेको’ उहाँले उल्लेख गर्नुभएको छ। साथै, यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न पनि आवश्यक देखिएको उहाँको भनाइ छ ।


    शुक्रवार, भाद्र २१ २०८१०७:०३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij