काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कुनै एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्षसहित बहुमत सचिवालय सदस्यहरु अबको विकल्पबारे अल्यौलमा परेका छन् ।
तर उनीहरुले आफूहरुले पार्टी जोगाउन धैर्यता राखिरहेको भन्दै यसलाई कमजोरी नठान्न ओली समूहलाई चेतावनी दिएका छन् । पार्टीमा गहिरिएको संकट समाधानका लागि सचिवालय बैठक डाक्न लिखित पत्र बुझाउँदा समेत ओलीले त्यसमा सहमति नदिएपछि आज कार्यकारी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पस्नुभएको थियो ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठक राखेर आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी दिएपछि प्रचण्ड आधाघण्टामै त्यहाँबाट फर्कनुभएको थियो ।
बैठकमा ओलीलाई प्रचण्डले कार्तिक २७ गते बैठक राख्नका लागि सहमति जनाउन र उक्त बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । तर उक्त प्रस्तावमा ओलीले सहमति नदिनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बालुवाटारमा आफूविरुद्ध एक्सन लिए त्यो भन्दा महाएक्सन लिने चेतावनी बुझेपछि प्रचण्ड–नेपाल समूहका बहुमत पाँच सचिवालय सदस्यहरुको धुम्बाहारीमा अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकपछि संवाददाताहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा सहमति जनाउन प्रचण्डले गरेको आग्रह अर्का अध्यक्ष ओलीले फेरि पनि अस्वीकार गरेको जानकारी दिनुभएको हो ।
त्यसो भए अब तपाईँहरुको बाटो के त भन्ने संवाददाताहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले बैठक बसेन भने के गर्ने भनेर अहिले पनि आफूहरुले सोच्न नचाहेको बताउनुभयो । तर आफूहरुले पार्टीलाई जोगाउन खेलिरहेको भूमिकालाई कमजोरी नठान्न उहाँको चेतावनी छ ।
अहिलेको परिस्थितिमा सचिवालय बैठक राखे आफ्नो राजीनामा मागिने भयका कारण प्रधानमन्त्री ओलीले त्यसमा सहमति नजनाउनुभएको बताइएको छ । तर ओली निकट नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री बैठकबाट भागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्नुभयो । बैठक राख्न प्रधानमन्त्री सहमत भए पनि मितिका लागि परामर्श भइरहेको उहाँले बताउनुभयो ।
पार्टीभित्र मतभेद चुलिँदै जाँदा प्रचण्ड–नेपाल समूहले बैठकको माग गरिरहेको छ भने ओली समूह जसरी भए पनि बैठक छल्ने रणनीतिमा छ । दुवै समूहले आन्तरिक रुपमा एक अर्काकाविरुद्ध घेराबन्दीको प्रयास गरिरहँदा २७ गतेको बैठक के हुने छ भन्नेबारे चासो बढेको छ । बैठक राखेर आफूविरुद्ध निर्णय गरे महाएक्सन लिने ओलीको चेतावनीका कारण पार्टी फुटको स्थितिमा पनि पुग्न सक्ने रुपमा अनुमान गर्न थालिएको छ ।