Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु, ४१ जना घाइते

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु, ४१ जना घाइते

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 1.3K
    SHARES

  • छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु, ४१ जना घाइते

    काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । घाइतेमधये १० जनाको अवस्था गम्भीर रहेको छ ।

    बैतडीको पाटन नगरपालिका ८ को खोड्पेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडा केदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँकै २७ वर्षीय करणसिंह ऐर, दोगडा केदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम ४ का तर्कराज गिरी रहेका छन् ।

    यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० का विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते ३४ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका –२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा २४ वर्षका चालक खेम गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जीपमा सवार तीन जना गम्भीर घाइते भएका छन्, भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ । घाइतेलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको छ ।

    उता, धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार आज बिहान नालामा खसेर दुर्घटना हुँदा त्यसका चालक धनुषाधाम नगरपालिका १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिनभयो ।

    यता, हेटौँडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा सर्लाहीका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

     


    शुक्रवार, कार्तिक २८ २०७७१२:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij