काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अब पत्रमार्फत लिखित युद्ध सुरु भएको छ।
यसअघि पार्टीका बैठकहरु तथा दुई अध्यक्षबीचको छलफलमा मौखिक रुपमा द्वन्द्व हुने गरेको भए पनि पार्टीको विवाद पत्र युद्धमा परिणत भएको हो।
दुवै अध्यक्षले पत्र मार्फत एक अर्कालाई विभाजनकारी र उदण्डको संज्ञा दिँदै प्रत्युत्तर दिन थालेका छन् ।
सचिवालय बैठकको माग राखेर प्रचण्डले ओलीलाई पत्र बुझाएपछि दुई अध्यक्षबीच पत्र युद्धको सुरुवात भएको हो ।
प्रचण्डले सचिवालय बैठकको माग राखेर बुझाएको पत्र बुझेपछि अध्यक्ष ओलीले त्यसको जवाफ लिखित पत्रमार्फत नै दिनुभएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालय बैठक माग गर्ने अन्य नेताहरुलाई बोधार्थ गरिएको उक्त पत्रमा ओलीले पार्टीमा संकट निम्त्याउने एक मात्र कारक प्रचण्ड रहेको आरोप लगाउनुभएको छ ।
१० पन्ने उक्त पत्रमा ओलीले प्रचण्डलाई गुटबन्दी गरेर पार्टीलाई फुटतर्फ अग्रसर गराएको आरोप लगाउनुभएको छ ।
त्यसको जवाफमा सात पन्ने पत्र पठाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई ‘तपाईको कार्यशैली देखेर अब त मलाई पनि इनफ इज इनफ’ भन्न मन लागेको जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको प्रचण्डले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राति–राति बालुवाटारबाट गुटबन्दी गरेको तर, आफूलाई गुटबन्दीको आरोप लगाएको भन्दै प्रचण्डले ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैसी पनि नदेख्ने भनेको यही होइन र?’ भन्दै प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै प्रचण्डले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा समेत पत्रमार्फत दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफूमाथि अतिचार गरेको उल्लेख गर्दै प्रचण्डले ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि इनफ इज इनअफ भन्न मन लागेको उल्लेख गर्नुभएको छ ।
यसैबीच प्रचण्डले आजको सचिवालय बैठकमा पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । यस्तै सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कालाई लेखेको पत्र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानी) पनि नेताहरुलाई अध्ययनका लागि बाँडिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यक अध्ययनका लागि ती पत्रहरु सचिवालय सदस्यलाई बाँडिएको जानकारी दिनुभयो ।
आज ४० मिनेटमै सकिएको सचिवालय बैठक अब मंसिर ३ गते बस्ने तय भएको जानकारी पनि प्रवक्ता श्रेष्ठले दिनुभयो । आजको बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचिवद्ध ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसीले दुई अध्यक्षले एक अर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरुलाई अध्ययन गर्नू भनेर बैठक टुंग्याउनु लज्जाको विषय रहेको बताउनुभयो । उहाँले जनसमुदायमा बबण्डर किन मच्याइएको हो भनेर पार्टीका नेताहरुले जवाफ दिनुपर्ने बताउनुभयो ।
यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राख्नुभएको छ ।
रोजेको मन्त्रालय लिएर आफूलाई साथ दिन ओलीले गौतमलाई प्रस्ताव गर्नुभएको हो । आफूनिकट नेताहरुमार्फत् ओलीले गौतमलाई मन्त्री बन्न प्रस्ताव गर्नुभएको हो ।
स्रोतका अनुसार ओलीनिकट केही नेताहरुले बिहीबार राति अबेरसम्म गौतमसँग कुराकानी गरेका थिए । तर, गौतमले मन्त्री बन्ने वा नबन्ने निर्णय संस्थागतरुपमा गरिनुपर्ने बताउनुभएको श्रोतले बताएको छ ।
गौतमले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई साथ दिएपछि ओली सचिवालयको समीकरणमा अल्पमतमा पर्नुभएको छ ।
सचिवालयमा गौतम जता लाग्यो, उतै बहुमत पुग्ने अवस्था भएकाले पनि ओलीले गौतमलाई फकाउन निकै कसरत गरिरहनुभएको छ ।