Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

३ सय ९४ अस्पताल एकैदिन शिलान्यास गरिँदै

३ सय ९४ अस्पताल एकैदिन शिलान्यास गरिँदै

  • आइतवार, मंसिर ७ २०७७

  • 1.1K
    SHARES

  • ३ सय ९४ अस्पताल एकैदिन शिलान्यास गरिँदै

    काठमाडौँ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ ।

    मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

    मङ्सिर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

    बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो, ‘‘अहिले शिलान्यास हुने अस्पतालहरू १५ शैयाका हुनेछन्, अर्को वर्षसम्ममा ६४९ वटै स्थानीय तहमा १५ शैंयाको नै अस्पताल हुनेछ ।’’

    ‘‘निर्माण हुने आधारभूत यी अस्पताल मुख्यतः सम्बन्धित पालिकाहरूको हो, पालिकाहरूको समन्वयमा शिलान्यासको तयारी भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘कुन ठाउँमा कसले शिलान्यास गर्ने हो, त्यसको निर्णय सम्बन्धित पालिकाले नै गर्ने हो ।’’ सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमा पालिकाले अस्पताल निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो । सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने स्वास्थ्यकर्मीलाई त्यही पालिका अस्पतालहरूमा पठाइने प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्रले लेखेको छ ।

     


    आइतवार, मंसिर ७ २०७७०७:२३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij