काठमाडौं ।कोरोना संक्रमणले थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक दाङका थप दुईजना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
२७ गते अस्पताल भर्ना भएका उनको गयराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।
यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज बिहान मृत्यु भएको श्रेष्ठले बताउनुु भएको छ । उनमा मधुमेह र निमोनियाको समस्या थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।यसैबिच, कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको छ।
सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको गयराती विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्य गम्भीर भएको थियो। उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।
विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत देवको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणिय क्षति पुगेको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ। ५४ वर्षीय देव युनियनका सहसचिव थिए।