प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुहुने भएको छ। डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको हो।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन उद्घाटनकै दिन राति १ देखि २ बजेबीच आउन सक्नेछ। यो विशेष सम्बोधनमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे उल्लेख छ। विशेष महासभामा सम्बोधनका लागि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो।
उद्घाटनका दिन अनुभव आदानप्रदान गरिने छ। दोस्रो दिन कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर पारेको विषयमा छलफल हुने छ। विशेष महासभामा १ सय ४१ जनाले सम्बोधन गर्ने छन्। त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन। विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोप र प्रयोगको विषयमा छलफलको कार्यक्रम पनि तय भएको छ ।