काठमाडौँ – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिनुभएको छ । उहाँले पार्टीका बैठकमा नआएर सडकमा ‘हामी यहाँ छौँ’ भनेर तमासा देखाउनेहरु भगौडा भएको आरोप लगाउनुभयो ।
धनगढीमा आज आयोजित सभालाई सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुनेर प्रभावित नहुन पनि आग्रह गर्नुभयो ।
प्रचण्ड–माधव समूहका नेताहरु पार्टीबाट भागेर गाली गर्दै हिँडेको तर आफूहरुलाई त्यसको जवाफ दिन फुर्सद नभएको ओलीले बताउनुभयो । उहाँले केही मान्छेहरु पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने भएकोले तीन करोड जनसंख्या भएको मुलुकमा २६५ जना गएर पार्टीलाई कुनै क्षति नहुने दाबी गर्नुभयो ।
प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिनुभएका ओलीले आगामी निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती पनि दिनुभयो ।
यता नेकपाको प्रचण्ड–माधव समूहका नेताहरुले आफूहरुलाई भगौडा भन्ने केपी ओली नै भगौडा रहेको जवाफ फर्काएका छन् । प्रधानमन्त्रीको निवासमै पार्टीका बैठकहरु आयोजना गर्दा पनि सहभागी हुन नमानेर भाग्ने ओली नै भगौडा भएको उनीहरुको जवाफ छ ।
नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नै भगौडा रहेको जवाफ फर्काउनुभयो । काठमाडौँमा आयोजित एक कार्यक्रममा रावलले नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा सामन्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक कोही हो भने त्यहाँ केपी शर्मा ओलीको नाम आउने बताउनुभयो ।
शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको उहाँले बताउनुभयो । यस्तै यो समूहका अर्का नेता बेदुराम भुषालले पनि केपी शर्मा ओली नै भगौडा रहेको बताउनुभयो ।
प्रतिनिधिसभा भंग गर्ने ओलीको निर्णयसँगै नेकपाको एकता पनि भंग भएको छ । अहिले ओली र प्रचण्ड–नेपाल समूह अलग भएका छन् । कानुनी रुपमा पार्टी फुटिसकेको नभए पनि वडातहसम्म विभाजन प्रष्ट देखिएको छ । यो बेला पार्टीका शीर्ष नेताहरु एक अर्काप्रति अभद्र आरोप र टिप्पणीहरु गरिरहेका छन् ।
केपी ओलीले प्रचण्ड–नेपालहरु भगौडा रहेको आरोप लगाएका बेला माधवकुमार नेपालले पनि ओलीलाई गफाडी नम्बर १ को संज्ञा दिनुभएको छ । स्वर्गीय मदन भण्डारीले पनि केपी ओलीलाई गफाडी नम्बर एक भन्ने गरेको नेता नेपालको दाबी छ । तर कम्युनिष्ट आन्दोलनको संघर्षमा सँगसँगै रहेका नेताहरु अहिले निम्नस्तरका गालीगलौजमा उत्रेपछि नेपालमा कम्युनिष्टहरुको चरित्रबारे फेरि नकरात्मक टिप्पणीहरु हाबी भइरहेका छन् ।