काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपानिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रचण्ड–माधव समूहकी रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही अघि बढाउन गर्न माग गरेको छ । आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेकी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जतिगरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमासमेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरेको उल्लेख छ । यसर्थ, उनलाई प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनिय र अपमानजन्य आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको अनेमसंघकी नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो ।