दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ ।

दाङमा अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन् ।

बस समितिका सबै काउन्टर बन्द छन्, कुनै सार्बजनिक सवारीका साधनहरु सञ्चालनमा आएको देखिएको छैन ।
जिल्लाका प्रमुख बजार तुलसीपुर र घोराही पनि बन्द छन् । उद्योग करकारखाना सबै बन्द छन् । आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड–माधव समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा खाले बन्दको चेतावनी दिएकाले सर्वसाधारणमा त्रास फैलिएको छ ।
उक्त समूहका जिल्लास्थित नेताले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए ।
जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन् ।
