काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्ति कसैको व्यक्तिगत जीवनलक्षित नभएर राजनीतिक विषयमा भएको दावी गर्नुभएको छ ।
संवैधानिक राष्ट्रपतिको संस्था आफूहरुको गरिमा भएको बताउँदै उहाँले त्यसप्रतिको मर्यादाको आफूले सधैँ सम्मान गर्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भन्नुभयो,“राष्ट्रपति विद्यादेवी भण्डारीप्रति नभएर संस्थाप्रति मैले हिजो पनि सम्मान गर्थे, आज पनि गर्छु र सधैँ गरिरहन्छु तर जस्ले जनताका मर्म र भावना विपरित काम गर्छ त्यसका काम र कर्तव्यविरुद्ध मेरो आवाज कसैले रोक्न सक्दैँन ।”
राष्ट्रपति कानुनभन्दा बाहिर गएकाले आफूले आलोचना गरेको बताउँदै नेतृ झाँक्रीले अन्याय र अत्याचारविरुद्ध कसैले कसैको आवाज रोक्न नपाउने पनि दावी गर्नुभएको छ ।
उहाँले संवैधानिक संस्थामा रहेर जनताको भावनाविपरित कदम चाल्दा आफूले जोसुकै भएपनि त्यसको विरोध गर्ने बताउनुभएको छ । संवैधानिक सीमा नाघेर लोकतन्त्रको घाँटी थिचेकाले शितल निवास छोडेर चुनाव लड्न आउन राष्ट्रपतिलाई चुनौती दिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
आफ्नो गिरफ्तारीको विषयमा नेतृ झाँक्रीले आफूविरुद्ध कुनै पनि किसिमको अभियोग जारी नभएकाले प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री स्वयच्छाचारी, निरंकुश, लोकतन्त्रप्रति अनुत्तरदायी ब्यक्ति भएको आरोप उहाँको छ ।
उहाँले भन्नुभयो,“प्रधानमन्त्री ओली निरंकुश राणा शासनजस्तै गरी देश चलाउन थाल्नुभएको छ, राजाले पनि संविधानभन्दा बाहिर गएर देशलाई घात गरेका थिएनन् तर ओलीले देश र संविधानभन्दा माथि आफूलाई ठान्छन् ।”
अहिले देश विदेशीको प्रयोगशाला बन्दै गएको पनि उहाँको भनाइ छ । आफु नागरिकका लागी सधैँ लडीरहने नेतृ झाँक्रीको दावी छ ।